दफा १७
औषधिलाई समूहमा विभाजन गर्न सकिने
(१) औषधिलाई तोकिएबमोजिम समूह वा उप–समूहमा विभाजन गर्न सकिनेछ ।
(२) उपदफा (१) बमोजिम समूह विभाजन गर्दा चिकित्सकको प्रेशक्रिप्सन बिना बिक्री–वितरण गर्न नहुने भनी समूहकृत गरिएको औषधि चिकित्सकको प्रेशक्रिप्सन बिना कसैले बिक्री–वितरण गर्न हुँदैन । त्यस्तो औषधि चिकित्सकको प्रेशक्रिप्सन बमोजिम बिक्री–वितरण गर्दा फर्मासिष्ट वा फार्मेसी सहायक वा व्यवसायी आफैले बिक्री–वितरण गर्नु पर्नेछ र फर्मासिष्ट वा फार्मेसी सहायक वा व्यवसायी बाहेक अरूले त्यस्तो औषधि बिक्री–वितरण गर्दा फर्मासिष्ट वा फार्मेसी सहायक वा व्यवसायीको उपस्थिति अनिवार्य हुनेछ ।
(३) उपदफा (२) बमोजिम समूह विभाजन गर्दा फर्मासिष्ट वा फार्मेसी सहायक वा व्यवसायीले वा निजमध्ये कुनैको उपस्थितिमा मात्र बिक्री–वितरण गर्नु पर्ने गरी समूहिकृत गरिएको औषधि निजले वा निजको उपस्थितिमा मात्र बिक्री वितरण गर्न सकिनेछ ।
(४) उपदफा (२) र (३) बमोजिम समूहिकृत गरिएको औषधि बाहेक अन्य औषधि अनुभवका आधारमा मनासिव मात्रामा कुनै पनि बिक्रेताले बिक्री गर्न सक्नेछ ।
स्पष्टीकरण : “फर्मासिष्ट” भन्नाले फार्मेसीमा स्नातक वा फर्मास्यूटिक्समास्नातकोपाधि प्राप्त गरेको वा औषधि सम्बन्धी अनुभव प्राप्त गरेको भई औषधि सल्लाहकार समितिबाट मान्यता प्राप्त व्यक्ति “फार्मेसी सहायक” भन्नाले फार्मेसिमा प्रमाणपत्र तह वा सरह उत्तीर्ण गरेको व्यक्ति र “व्यवसायी” भन्नाले औषधि सल्लाहकार समितिबाट तोकेबमोजिमको योग्यता प्राप्त गरेको भई सोही समितिबाट मान्यता प्राप्त व्यक्ति सम्झनु पर्छ ।